धनुषाको मिथिला नगरपालिका मा लामो समयदेखि भूमिहीन तथा सुकुमबासीका रूपमा बस्दै आएका ४८३ परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ। नगरपालिका–६, ७, ८ र ९ का स्थानीयवासीलाई आज एक समारोहका बीच लालपुर्जा हस्तान्तरण गरिएको हो।
नापी कार्यालय ढल्केवरस्थित दुई नम्बर टोलीका अनुसार आवश्यक नापनक्सा, कागजात परीक्षण तथा कानुनी प्रक्रिया पूरा गरेपछि लालपुर्जा वितरण गरिएको हो। यसअघि पनि सोही टोलीले नगरपालिकाका केही वडामा लालपुर्जा वितरण गरिसकेको थियो। हालसम्म ६५८ जनाले लालपुर्जा प्राप्त गर्न निवेदन दिएका थिए, जसमध्ये प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। उनीहरूले वर्षौँदेखिको प्रतीक्षापछि नागरिकले लालपुर्जा प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै बाँकी भूमिहीनलाई पनि छिट्टै कानुनी प्रक्रिया पूरा गरी स्वामित्व दिलाउनुपर्नेमा जोड दिएका छन्।
स्थानीय तहका प्रमुखहरूले लालपुर्जा प्राप्त भएपछि नागरिकहरू अब सुरक्षित स्वामित्वसहित बसोबास गर्न सक्ने र यसले नगरको समग्र विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्