चारदिने औपचारिक भ्रमणका लागि चीन पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ समकक्षी वाङ यीसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लगायत द्विपक्षीय परियोजनामा केन्द्रित छलफल गर्ने बताएका छन्। आइतबार बेइजिङ पुगेका मन्त्री खनालले नेपाली समुदायसँगको भेटघाटका क्रममा नेपालले आवश्यक ठानेका कनेक्टिभिटी, पूर्वाधार, व्यापार, पर्यटन र प्रविधिका क्षेत्रमा चीनसँग सहकार्यलाई प्राथमिकता दिने स्पष्ट पारे।
उनले बीआरआई वा अन्य द्विपक्षीय संयन्त्रमार्फत आउने परियोजनाहरू नेपालका लागि आवश्यक भए पनि तिनको छनोट र कार्यान्वयन गर्दा राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताए। उनका अनुसार परियोजना अघि बढाउँदा नेपालले पहिचान गरेका आवश्यकता, दुवै पक्षले स्वीकार्न सक्ने वित्तीय ढाँचा र त्यसबाट प्राप्त हुने आर्थिक प्रतिफललाई विशेष ध्यान दिनुपर्नेछ।
मन्त्री खनालले सन् २०१७ मा बीआरआईसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको र २०२४ मा ‘फ्रेमवर्क एग्रिमेन्ट’ सम्पन्न भइसकेको उल्लेख गर्दै अब परियोजनाको आवश्यकता र प्रभावकारिताका आधारमा ‘प्रोजेक्ट–स्पेसिफिक’ छलफल हुने बताए। यही विषय आफ्नो चिनियाँ समकक्षीसँगको औपचारिक भेटवार्तामा पनि उठ्ने उनले जानकारी दिए।
उनले नेपाल सरकारको प्राथमिकता अनुरूप कनेक्टिभिटी, पूर्वाधार विकास, व्यापार विस्तार, पर्यटन प्रवर्द्धन र प्रविधि क्षेत्रमा सहकार्यलाई अगाडि बढाउने सन्देश चीनलाई दिने बताए। सरकारले आर्थिक समृद्धिका लागि व्यापार, पर्यटन, पूर्वाधार, प्रविधि, ऊर्जा र कनेक्टिभिटीलाई मुख्य प्राथमिकतामा राखेको उनको भनाइ थियो।
भ्रमणका दुई प्रमुख उद्देश्यबारे बोल्दै मन्त्री खनालले पहिलो प्राथमिकता नेपाल र चीनबीचको उच्चस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउने रहेको बताए। उनका अनुसार दुवै देशबीच नियमित उच्चस्तरीय भ्रमणले पारस्परिक विश्वास र सहकार्यलाई थप मजबुत बनाउनेछ।
दोस्रो प्राथमिकता नेपालमा नयाँ जनादेशसहित गठन भएको सरकारका विकास र सुशासनका लक्ष्यलाई अन्तर्राष्ट्रिय सहकार्यमार्फत अघि बढाउने रहेको उनले बताए। आर्थिक समृद्धिको साझा उद्देश्य हासिल गर्न चीनसँग व्यावहारिक र परिणाममुखी सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको सन्देश लिएर आफू बेइजिङ आएको मन्त्री खनालले स्पष्ट पारे।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्