Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

जन्माष्टमीमा भक्तजनका लागि निःशुल्क स्वास्थ्य शिविर, लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायक र ब्लड हस्पिटलको सहकार्य

पाटन, ललितपुर। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा पाटन दरबार क्षेत्रस्थित प्रसिद्ध कृष्ण मन्दिरमा दर्शनका लागि आउने भक्तजनहरूको स्वास्थ्य तथा सहजतालाई ध्यानमा राख्दै विशेष निःशुल्क स्वास्थ्य शिविर तथा हेल्थ डेस्क सञ्चालन हुने भएको छ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी ३२५) अन्तर्गत लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायक र लियो क्लब अफ टेम्पल सिद्धिविनायकको संयुक्त आयोजनामा सञ्चालन हुने उक्त स्वास्थ्य सेवामा ब्लड हस्पिटलको सहकार्य रहनेछ।
ललितपुरको जावलाखेलमा अवस्थित ब्लड हस्पिटल रक्तसम्बन्धी रोगको उपचार तथा हेमाटोलोजी सेवामा विशेष केन्द्रित स्वास्थ्य संस्था हो। अस्पतालले रक्तसम्बन्धी रोग, रक्त क्यान्सर, बोन म्यारो ट्रान्सप्लान्टलगायतका उपचारसँगै हेमाटोलोजी, कार्डियोलोजी, स्त्रीरोग, प्याथोलोजी, ग्यास्ट्रोएन्टेरोलोजीलगायतका विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ। अस्पतालले २४ घण्टा सेवा उपलब्ध गराउने जनाएको छ।
आयोजकका अनुसार २०८३ साल भदौ १९ गते बिहानैदेखि सञ्चालन हुने स्वास्थ्य शिविरमा कृष्ण मन्दिरमा दर्शनका लागि लामो समयसम्म लाइनमा बस्ने भक्तजनहरूलाई तत्काल स्वास्थ्य तथा आरामसम्बन्धी सुविधा उपलब्ध गराइनेछ। शिविरमा चिसो जुस, खानेपानी तथा ओरल रिहाइड्रेसन सोलुसन (जीवनजल) को व्यवस्था गरिनुका साथै थकान तथा गर्मीबाट प्रभावित भक्तजनहरूका लागि सुविधासम्पन्न विश्राम स्थल समेत तयार गरिनेछ।
विशेषगरी घाम, गर्मी र लामो समयसम्मको प्रतीक्षाका कारण हुन सक्ने थकान तथा असहजतालाई मध्यनजर गर्दै भक्तजनलाई आवश्यक प्राथमिक स्वास्थ्य सहयोग र राहत उपलब्ध गराउनु शिविरको मुख्य उद्देश्य रहेको आयोजकहरूले बताएका छन्।
लायन्स क्लब अफ टेम्पल सिद्धिविनायकका सचिव सञ्जय कुशवाहाले जन्माष्टमीको धार्मिक भावनासँगै मानवीय सेवाको भावनालाई जोडेर कार्यक्रम आयोजना गरिएको बताए।
“कृष्ण जन्माष्टमीको अवसरमा भक्ति र सेवा दुवैलाई एकसाथ अगाडि बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। श्रद्धाका साथ मन्दिर आउने भक्तजनहरूको स्वास्थ्य र सहजताको ख्याल राख्नु नै हाम्रो सेवा भावनाको मूल मर्म हो।”
उनले यस अभियानमा ब्लड हस्पिटलको सहकार्य तथा निर्वाणा फार्मेसी प्रा.लि. लगायतका प्रायोजक तथा सहयोगी संस्थाहरूको साथले कार्यक्रमलाई थप प्रभावकारी बनाएको बताए।
कार्यक्रम “सेवा करुणाका साथ, स्याहार भक्तिका साथ” (Service with Compassion, Care with Devotion) भन्ने मूल नाराका साथ सञ्चालन हुनेछ। त्यस्तै, “हामी सँगै सेवा गर्छौं, सँगै निको पार्छौं” (Together We Serve, Together We Heal) भन्ने भावनालाई आत्मसात् गर्दै लायन्स तथा लियो सदस्यहरू स्वयंसेवकका रूपमा भक्तजनको सेवामा परिचालित हुनेछन्।
कार्यक्रमलाई ई–नेशनल टिभी र बीएन मिडियाले मिडिया पार्टनरका रूपमा सहकार्य गर्ने भएका छन्।
लायन्स इन्टरनेशनलको यस वर्षको “Leading with Purpose” भन्ने मूल भावनासँग समेत मेल खाने यो पहलले धार्मिक आस्था, सामाजिक उत्तरदायित्व र मानवीय सेवाबीचको सुन्दर सम्बन्धलाई उजागर गर्ने आयोजकहरूको विश्वास छ।
आयोजकहरूले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिरमा दर्शनका लागि आउने सम्पूर्ण भक्तजनलाई स्वास्थ्य शिविर तथा हेल्थ डेस्कबाट उपलब्ध हुने सेवाको अधिकतम लाभ लिन आग्रह गरेका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्