अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने दिशामा सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत महत्वपूर्ण सुरुवात गरेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पछिल्ला १५–२० वर्षदेखि नेपाली युवाले अवसरको खोजीमा विदेश जानुपर्ने अवस्था रहेकामा अब त्यसलाई परिवर्तन गर्ने आधार तयार पारिएको बताए।
उनले बजेटमा समावेश गरिएका कार्यक्रमहरूले आगामी पाँच वर्षभित्र युवालाई स्वदेशमै उद्यम र रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको उल्लेख गरे। “विदेशिनु नै सफलताको एकमात्र विकल्प भन्ने सोच परिवर्तन गर्न बजेटले जग बसालेको छ,” उनले भने।
अर्थमन्त्री वाग्लेले सरकारले युवा उद्यमशीलता प्रवर्द्धनका लागि कर सहुलियत, कर बक्यौतामा फसेका उद्योगी–व्यवसायीलाई राहत, सरकारी प्रशासनको डिजिटलाइजेसन तथा सुशासनका कार्यक्रम अघि बढाएको जानकारी दिए।
उनका अनुसार वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी गर्ने युवालाई करको झन्झटबाट मुक्त बनाउने व्यवस्था बजेटमा गरिएको छ। साथै करसम्बन्धी विवाद र बक्यौताका कारण समस्यामा परेका व्यवसायीलाई नयाँ सुरुवात गर्न सक्ने गरी सहुलियतपूर्ण व्यवस्था पनि समावेश गरिएको उनले बताए।
बजेट निर्माणका क्रममा युवाको उद्यमशील सोच, नवीन योजना र निजी क्षेत्रको सहभागितालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले घोषणा गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनबाट देश निर्माणको नयाँ आधार तयार हुने विश्वास व्यक्त गरे।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्