Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

२ वर्षीया बालिकाको शंकास्पद मृत्यु : सौतेनी आमा अनुसन्धानमा

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक चोकमा दुई वर्षीया बालिका शंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। घटनामा बालिकाकी सौतेनी आमालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहानदेखि हराएकी थिइन्। बिहान करिब पौने १० बजेसम्म उनी पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको घरअगाडि खेलिरहेकी थिइन्। त्यसपछि बालिका अचानक सम्पर्कविहीन भएकी थिइन्।

परिवारजनले खोजी गर्दा नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी, परिवारजन र स्थानीयवासीले खोजी गर्ने क्रममा घरपछाडिको झाडीमा बालिका मृत अवस्थामा फेला परेकी हुन्।

प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाकी सौतेनी आमा मुस्कान खातुनको संलग्नताबारे आशंका उत्पन्न भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमराज घिमिरेका अनुसार परिवारभित्र घरायसी विवाद रहेको देखिएको छ। उनले मुस्कानलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

बालिकाकी आमा रुबिना खातुनले भने आफ्नी छोरीको मृत्युमा मुस्कानको संलग्नता रहेको दाबी गरेकी छन्। यद्यपि, घटनाको वास्तविक कारण र मृत्युको अवस्था पोस्टमार्टम तथा थप अनुसन्धानपछि स्पष्ट हुने प्रहरीले जनाएको छ।

बालिकाको शव पोस्टमार्टमका लागि पठाइएको छ। उनका बुवा वैदेशिक रोजगारीमा रहेको बताइएको छ।

प्रहरीले घटनालाई शंकास्पद मृत्युका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्