Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

गरिमा हत्या प्रकरणमा थप एक नाबालक पक्राउ, अनुसन्धानमा नयाँ मोड

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ। योसँगै घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाको संख्या ९ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार आइतबार सिमरा आसपासको क्षेत्रबाट ती बालकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका बालक यसअघि नै हिरासतमा रहेका १६ वर्षीय बालकका साथी रहेको प्रहरीले जनाएको छ। नाबालक भएकाले उनको नाम र पहिचान सार्वजनिक गरिएको छैन।

साउन ३१ गते बिहान करिब ८ः३० बजे स्थानीय म्याजिक चालक प्रोग्रेस चौधरीकी पाँच वर्षीया छोरीसँग खेल्न गएकी गरिमा अचानक बेपत्ता भएकी थिइन्। बेपत्ता भएको तीन दिनपछि घरबाट करिब १५० मिटर दक्षिणमा रहेको एउटा खाली घरमा उनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो।

शव फेला परेको दिन प्रहरीले २४ वर्षीय प्रोग्रेस चौधरी र उनका १६ वर्षीय सहचालकलाई पक्राउ गरेको थियो। घटनामा संलग्नताको आशंकामा प्रहरीले प्रोग्रेसका परिवारका थप ६ जनालाई समेत नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार हिरासतमा रहेका १६ वर्षीय बालकले बालिकामाथि बलात्कार गरी डोरीले घाँटी कसेर हत्या गरेको बयान दिएका छन्। तर पछिल्लो समय सामाजिक सञ्जालमा सार्वजनिक भएको भनिएको एक भिडियोमा उनले घटनामा आफ्ना अर्का साथीसमेत संलग्न रहेको दाबी गरेका छन्।

भिडियोमा गरिएको दाबीअनुसार ती साथीले पनि बालिकामाथि बलात्कार गरेको बताइएको छ। यद्यपि भिडियोमा गरिएको दाबीको सत्यता प्रहरीले अनुसन्धानबाट पुष्टि गर्न बाँकी छ।

प्रादेशिक अस्पताल कलैयामा ओसीएमसी प्रक्रियाका क्रममा लिइएको भनिएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले भिडियो सार्वजनिक भएको विषयमा समेत अनुसन्धान थालेको छ।

बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार संवेदनशील प्रकृतिको भिडियो कसरी र कसले सामाजिक सञ्जालमा सार्वजनिक गर्‍यो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको भूमिका तथा भिडियोमा गरिएका दाबीको तथ्य पुष्टि गर्न अनुसन्धान अघि बढाएको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्