Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

सिमराबाट तीन दिनदेखि हराएकी ४ वर्षीया बालिका मृत फेला

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट तीन दिनदेखि हराइरहेकी चार वर्षीया बालिका गरिमा चौधरी मृत अवस्थामा फेला परेकी छन्।

साउन ३१ गते बिहान करिब ८ बजेतिर घरबाट हराएकी बालिका मंगलबार घरबाट करिब दुई सय मिटरको दूरीमा रहेको एक खाली घरमा मृत अवस्थामा फेला परेकी हुन्।

इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीका अनुसार बालिकाको शव भेटिएको स्थानमा प्रहरी पुगेर घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। घटनाको प्रकृति हेर्दा बालिकाको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

नर्सरीमा अध्ययनरत बालिका घरबाट हराएपछि परिवार तथा स्थानीयले खोजी गर्दै आएका थिए। तीन दिनपछि घर नजिकै शव फेला परेपछि घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ।

प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम कलैया पठाउने तयारी गरेको जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

बालिकाको मृत्युको घटनाप्रति स्थानीयवासीले आक्रोश व्यक्त गर्दै दोषीलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धानमार्फत कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

घटनाको थप अनुसन्धानपछि बालिकाको मृत्युको वास्तविक कारण र घटनामा संलग्न व्यक्तिबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्