जीतपुरसिमरा, २० साउन। ‘समृद्ध व्यापार, संगठित उद्योग, सबल अर्थतन्त्र’ भन्ने मूल नाराका साथ जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आफ्नो नवौं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ।
संघको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष गजेन्द्र कुमार गुप्ताको अध्यक्षता रहेको थियो। कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शुभेच्छुक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछाने, वर्तमान पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुप्ताले संघले स्थापनाकालदेखि नै उद्योगी–व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक वातावरण सुदृढीकरण, सेवा तथा सहकार्यका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन निरन्तर भूमिका खेल्दै आएको बताए।
वक्ताहरूले स्थानीय आर्थिक विकासलाई गति दिन, नयाँ रोजगारीका अवसर सिर्जना गर्न तथा उद्योग र व्यापार क्षेत्रको प्रवर्द्धनका लागि निजी क्षेत्र, स्थानीय सरकार र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
स्थापना दिवसको अवसरमा संघले सम्पूर्ण उद्योगी, व्यवसायी तथा शुभेच्छुकहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै ‘एकता, सहकार्य, समर्पण र विश्वास’ को भावनासहित आगामी दिनमा पनि उद्योगी–व्यवसायीहरूको हकहितका लागि प्रतिबद्ध भएर काम गर्ने जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्