बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले शनिबार दिउँसो करिब ३ बजे स्थानीय ४२ वर्षीय वीरेन्द्र बैठालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बैठाको आफ्नै घरको आँगनमा खानतलासी गर्दा ७० पुडिया रहेको अवस्थामा ३८६ ग्राम र कालो प्लास्टिकमा प्याक गरिएको १ किलो ३५० ग्राम गरी जम्मा १ किलो ७४४ ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको छ।
बरामद लागूऔषधसहित बैठालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जितपुरमा राखिएको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय जितपुरबाट करिब २ किलोमिटर उत्तरतर्फ रहेको जनाइएको छ। प्रहरीले बरामद पदार्थको परीक्षण तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्