नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुधन गुरुङको पुनः गृहमन्त्री नियुक्तिलाई लिएर सरकारको कार्यशैलीमाथि तीखो व्यङ्ग्य गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले सरकारको यो कदमलाई ‘आफैं बोक्सी, आफैं झाँक्री’ को नाटकसँग तुलना गरेका हुन्। उनले सरकार आफैंले समस्या सिर्जना गर्ने र फेरि त्यसैको समाधानकर्ता बनेर प्रस्तुत हुने प्रवृत्तिमा लागेको आरोप लगाए।
थापाले यस प्रकारको कार्यशैलीले जनतामा सरकार र राजनीतिक नेतृत्वप्रतिको विश्वास कमजोर बनाएको टिप्पणी गरे। सुशासन, पारदर्शिता र राजनीतिक नैतिकताको कुरा गर्ने सरकारले आफ्नै निर्णय र व्यवहारबाट त्यसको खिल्ली उडाइरहेको उनको भनाइ छ।
उनले सत्ता टिकाउने स्वार्थका लागि नैतिकता र जवाफदेहितालाई बेवास्ता गरिएको दाबी गर्दै यस्तो प्रवृत्तिले लोकतान्त्रिक मूल्य, मान्यता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको बताए।
सम्पत्ति विवादपछि पदबाट बाहिरिएका गुरुङलाई छानबिन समितिले सफाइ दिएपछि प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको छ। यही निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी दलका नेताहरूले सरकारको आलोचना गरिरहेका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्