रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। घटनामा स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४५ वर्षीया रेणुदेवी जयसवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही टोल घर भई हाल गुजरा–५ हरिहरपुरमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले धारिलो हतियार (खुकुरी) प्रहार गरेका थिए। गम्भीर घाइते भएकी रेणुदेवीको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि आक्रोशित स्थानीयवासीले आरोपी उपेन्द्रमाथि कुटपिट गरेका थिए। स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार गराइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार खुकुरी प्रहार गर्नुको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक प्रमाण सङ्कलन तथा अनुसन्धान सुरु गरेको छ।
प्रहरीले हत्याको वास्तविक कारण र घटनाको सम्पूर्ण विवरण खुलाउन थप अनुसन्धान तीव्र पारिएको जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्