बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक सोमबार राति मिनी ट्रक अनियन्त्रित भएर घरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
दुर्घटनामा मिनी ट्रकमा सवार जीतपुरसिमरा उपमहानगरपालिका–८ इमलीप्रतिका ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए। उपचारका लागि तत्काल प्रादेशिक अस्पताल कलैया पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
उक्त दुर्घटनामा सोही स्थानका ५० वर्षीय देवनारायण चौधरी घाइते भएका छन्। उनको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ र उपचार भइरहेको छ।
प्रहरीका अनुसार बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली टाटा मिनी ट्रक अनियन्त्रित भई स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो। दुर्घटनाबाट घरको एकतर्फी पर्खालमा समेत क्षति पुगेको छ।
घटनापछि मिनी ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानीपुरका २७ वर्षीय राजुकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्