बाराको जितपुरसिमरा उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा शुक्रबार दिउँसो करिब २ बजे जितपुरसिमरा उपमहानगरपालिका–७ पहाडी टोलबाट २५ वर्षीय विदेशी ठाकुरलाई थोरै परिमाणको ब्राउन सुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो।
पक्राउ परेका ठाकुरलाई प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि दिउँसो ३:३० बजे इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही दिन अपराह्न करिब ४ बजे जितपुरसिमरा–७ सिधरी टोलमा गरिएको अर्को अपरेशनमा ३७ वर्षीय दिवेन्द्र बैठालाई २ किलो ७५४ ग्राम गाँजाजस्तो देखिने पदार्थ सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्