१ जेठ, काठमाडौं । सरकारी अस्पतालहरूमा करोडौं रुपैयाँ खर्चेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरण वर्षौंदेखि प्रयोगविहीन अवस्थामा थन्किएको पाइएको छ । महालेखा परीक्षकको ६३ औं प्रतिवेदनले राष्ट्रिय ट्रमा सेन्टरसहित विभिन्न सरकारी अस्पतालमा महँगा उपकरण सञ्चालनमा आउन नसकेको बेथिति औंल्याएको हो ।
प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ५ करोड ३७ लाख रुपैयाँभन्दा बढी मूल्यको क्याथल्याब मेसिन २०७२ सालदेखि प्रयोगविहीन छ । दक्ष जनशक्ति अभावका कारण करिब एक दशक बित्दा पनि मेसिन सञ्चालनमा आउन सकेको छैन । त्यस्तै २४ करोड ७७ लाख रुपैयाँ मूल्यको सिटी स्क्यान सिस्टम, १४ भेन्टिलेटर र ५ सी–आर्म मेसिनसमेत थन्किएका छन् ।
शुक्रराज ट्रपिकल अस्पतालमा ईसीजी केबलका ३०० सेट प्रयोगविहीन छन् भने मधेस प्रदेशको गजेन्द्र नारायण सिंह अस्पतालमा करिब ५ करोड रुपैयाँ बराबरका एक्स–रे, ल्याप्रोस्कोपी र अन्य उपकरण सञ्चालनमा आएका छैनन् ।
महालेखाले योजना बिना उपकरण खरिद गर्ने, तर सञ्चालनका लागि आवश्यक जनशक्ति, तालिम र व्यवस्थापन नगर्ने प्रवृत्तिका कारण राज्यको अर्बौं लगानी खेर गएको उल्लेख गरेको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्