Wednesday, June 10, 2026
बुधबार, जेठ २७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.59 SELL AUD/NPR 109.69 SELL BHD/NPR 405.11 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

मधेसमा ट्राफिक नियम उल्लंघनकर्तामाथि कडाइ, लाइसेन्स निलम्बन प्रक्रिया सुरु

मधेस प्रदेशमा ट्राफिक नियम बारम्बार उल्लंघन गर्ने सवारी चालकविरुद्ध कडा कदम चाल्दै चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको छ।

बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बिहीबारदेखि अभियान थाल्दै पहिलो चरणमा पाँच पटकभन्दा बढी नियम उल्लंघन गर्ने चालकलाई कारबाही प्रक्रिया अघि बढाएको हो।

कार्यालयका अनुसार आठ जना चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था कार्यालय वीरगन्जमा सिफारिस गरिएको छ। ती चालकहरू ट्राफिक नियम उल्लंघन अभिलेख प्रणाली (टीभीआरएस) मार्फत पहिचान गरिएको जनाइएको छ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ६० अनुसार पाँच पटकभन्दा बढी नियम उल्लंघन प्रमाणित भएमा लाइसेन्स निलम्बन गर्न सकिने बताए।

मधेस प्रदेशमा पहिलो पटक यस्तो प्रक्रिया लागू गरिएको हो। ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्र बस्नेतले यस कदमले चालकलाई जिम्मेवार र अनुशासित बनाउने विश्वास व्यक्त गरे।

उनका अनुसार पटकपटक नियम उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा ल्याउन यो अभियान प्रभावकारी हुने र यसबाट सडक दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

यस्तै, प्रदेशका आठवटै जिल्लामा टीभीआरएस प्रणालीमार्फत नियम उल्लंघन गर्ने चालकको पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जनाइएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्