राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद धनञ्जय रेग्मीले सुगौली सन्धिबारे स्पष्ट जानकारी दिन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सुगौली सन्धिको आधिकारिक प्रतिलिपि आफूहरूले पढ्न नपाएको बताएका हुन् ।
परराष्ट्रमन्त्रीसमक्ष प्रश्न राख्दै रेग्मीले नेपाल–भारत सीमासम्बन्धी समस्या बुझ्न सुगौली सन्धि अध्ययन आवश्यक रहेको बताए । उनले भने, “बोर्डरको समस्या के हो ? सुगौली सन्धि के रहेछ ? हामीले पढ्न पाएनौँ । त्यसको कपी कहाँ छ ? पढ्न पाए थाहा लाग्थ्यो ।”
बैठकमा पूर्वमन्त्रीसमेत रहेका सांसद शिशिर खनाल उपस्थित थिए ।
फरक प्रसङ्गमा सांसद रेग्मीले नेपालमा ‘रिसर्चर भिसा’ व्यवस्था आवश्यक रहेको धारणा राखे । अहिले विदेशी अनुसन्धानकर्ताहरू पर्यटक भिसामा नेपाल आउने गरेको उल्लेख गर्दै उनले अनुसन्धानका लागि छुट्टै भिसा व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।
“नेपालमा रिसर्चर भिसा दिने गरिएको छैन । रिसर्चरहरू टुरिस्ट भिसामा आउने गर्दछन् । उनीहरूलाई रिसर्च भिसा दिए सम्मान पनि बढ्छ, प्रोत्साहन पनि हुन्छ,” उनले भने ।
त्यस्तै, विदेशमा रहेका नेपालीको वास्तविक अवस्था, संख्या र आर्थिक गतिविधिबारे व्यवस्थित तथ्यांक संकलन गर्नुपर्नेमा पनि उनले जोड दिए । एनआरएन, वैदेशिक अध्ययनमा गएका विद्यार्थी र विदेशबाट हुने रकमको आवागमनबारे स्पष्ट विवरण आवश्यक रहेको उनको भनाइ थियो ।
“एनआरएनको संख्या कति छ ? कति विद्यार्थी गएका छन् ? कति पैसा कुन च्यानलबाट लगिएको छ ? समस्या पहिचान गरेपछि मात्रै समाधान गर्न सकिन्छ,” उनले भने, “हामीले रेमिटेन्स आएको मात्रै हेरेका छौँ, गएको हेरेनौँ ।”
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधबारको बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना तथा चालु कार्यक्रमबारे छलफल भइरहेको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्