सिराहाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले लाखौं मूल्य बराबरको अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादव रहेका छन् ।
सशस्त्र प्रहरी बलको नं. ७ गण सिराहाबाट खटिएको टोलीले सीमावर्ती क्षेत्रमा गस्ती गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको स १ ख ५३५ नम्बरको ट्रक रोकेर जाँच गरेको थियो । जाँचका क्रममा ट्रकबाट ठूलो परिमाणमा कस्मेटिक सामग्री, टुथपेस्ट तथा २ सय ६० किलो ओखर बरामद गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको सामानको अनुमानित मूल्य १९ लाख ४७ हजार रुपैयाँ रहेको छ भने जफत गरिएको ट्रकको मूल्य करिब २१ लाख रुपैयाँ आँकलन गरिएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका अवैध सामग्री आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्