सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू) आबद्ध विभिन्न मुलुकका महामहिम राजदूतहरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सोमबार भएको भेटमा नेपालस्थित इयू कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलरसहित लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैरआवासीय राजदूतहरुको सहभागिता रहेको थियो ।
भेटवार्ताका क्रममा नेपाल र इयू आबद्ध मुलुकबीचको द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्य, उच्च शिक्षामा साझेदारी तथा प्रविधिमैत्री शिक्षाको विकासलगायत विषयमा विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ ।
इयू सम्बद्ध मुलुकका प्रतिनिधिहरुले नेपालको वर्तमान परिवर्तित सन्दर्भमा सरकारका प्राथमिकताका क्षेत्रबारे चासो व्यक्त गर्दै विशेषगरी उच्च शिक्षामा सहकार्य र साझेदारी विस्तार गर्न इच्छुक रहेको बताएका थिए । उनीहरुले नेपालको शिक्षा क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिँदै आगामी दिनमा थप प्रभावकारी साझेदारीका कार्यक्रम अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा इयूलगायत विभिन्न मुलुकले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ व्यापक साझेदारीका लागि मन्त्रालय तयार रहेको बताए ।
उनले सरकारको नीति तथा प्राथमिकताबारे जानकारी गराउँदै शिक्षामा समावेशिता, पूर्वाधार विकास, शिक्षकको पेसागत क्षमता अभिवृद्धि र प्रविधिको पहुँच विस्तारका क्षेत्रमा सहकार्य बढाउन सकिने धारणा राखे ।
मन्त्री पोखरेलले शिक्षामा डिजिटाइजेसन, विश्वविद्यालयबीच सहकार्य, विद्यार्थी तथा ‘फ्याकल्टी मेम्बर’ एक्सचेन्ज कार्यक्रम सञ्चालन गर्न मन्त्रालय इच्छुक रहेको उल्लेख गरे । साथै, उच्च शिक्षाको पुनर्संरचनाको सन्दर्भमा विभिन्न देशका अनुभव, विज्ञता र नयाँ अवधारणा साझा गर्न आग्रह पनि गरे ।
भेटमा साइप्रस, रोमानिया र नेदरल्याण्डका राजदूतहरुले उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार गर्न आफूहरु सकारात्मक रहेको बताएका थिए । नेपालबाट ती मुलुकहरुमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको उल्लेख गर्दै दुई देशबीच शैक्षिक सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्