Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सर्लाहीले जित्यो तेस्रो जीतपुरसिमरा क्रिकेट कप, एक रनले चितवन पराजित

अत्यन्त रोमाञ्चक फाइनलमा सर्लाही जिल्ला क्रिकेट संघले तेस्रो जीतपुरसिमरा क्रिकेट कपको उपाधि जितेको छ। औराहस्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा सर्लाहीले भरतपुर क्रिकेट एकेडेमी (चितवन) लाई केवल एक रनले पराजित गर्दै उपाधि हात पारेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको सर्लाहीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रन बनायो। अली हसनले ४८ बलमा ५३ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे। जितेश मण्डलले १४ बलमा ३८ रनको आक्रामक इनिङ खेल्दा आरिफ राजा (२८) र परिमार्जन यादव (२०) ले पनि महत्वपूर्ण योगदान दिए।

१६१ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १२ रन आवश्यक परेको अवस्थामा चितवनले १० रन मात्र जोड्न सकेपछि सर्लाहीले रोमाञ्चक जित निकाल्यो।

चितवनका प्रतिक श्रेष्ठले ४७ रन बनाउँदै टोलीलाई जित नजिक पुर्याए पनि सफल हुन सकेनन्। रोहन झाले ४३, रिजन काफ्लेले ३१ र आर्या महतोले १६ रन बनाए।

बलिङतर्फ सर्लाहीका राहुल महतोले २ विकेट लिए भने चक्रधार यादव र अभय यादवले समान १/१ विकेट हात पारे।

उपाधि विजेता सर्लाहीले २ लाख रुपैयाँ नगद पुरस्कार जित्दा उपविजेता चितवनले १ लाख रुपैयाँ प्राप्त गर्यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (MVP) सर्लाहीका अली हसन घोषित भए। उनले फाइनलको ‘प्लेयर अफ द म्याच’ समेत जित्दै १५ हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगिताको उत्कृष्ट ब्याटर बारा जिल्ला क्रिकेट संघका साहिल पटेल घोषित भए भने उत्कृष्ट बलर जितेश मण्डल चुनिए। विधागत उत्कृष्ट खेलाडीहरूले जनही ५ हजार रुपैयाँ प्राप्त गरे।

समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी लगायत विभिन्न व्यक्तित्वहरूले विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिता चैत २१ गतेदेखि सुरु भएको थियो जसमा बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवनका टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगिता जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ।

यस वर्ष नेपाल प्रिमियर लिग विजेता टोली जनकपुर बोल्ट्सको समेत सहभागिता र सहयोगले प्रतियोगिता अझ आकर्षक बनेको थियो।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्