वीरगञ्जसँग जोडिएको सीमावर्ती भारतीय सहर रक्सौलस्थित प्राचीन सूर्य मन्दिर परिसरमा करिब ११ किलो तौलको विशाल कछुवा फेला परेपछि क्षेत्र यतिबेला चर्चाको केन्द्र बनेको छ । मन्दिर परिसरभित्र रहेको पवित्र पोखरी सफाइ गर्ने क्रममा दुर्लभ आकारको उक्त कछुवा भेटिएपछि श्रद्धालु, स्थानीयवासी तथा पर्यटकहरूको भिड लाग्न थालेको हो ।
सूर्य मन्दिरको जीर्णोद्धार तथा सौन्दर्यीकरण अभियानअन्तर्गत पोखरी सफा गर्ने क्रममा कछुवा देखिएको सूर्य मन्दिर समितिका मिडिया प्रवक्ता तथा समाजसेवी रजनीश प्रियदर्शीले जानकारी दिए । उनका अनुसार कछुवा फेला परेसँगै मन्दिर परिसरमा धार्मिक तथा सांस्कृतिक उत्साह थपिएको छ ।
विशेषगरी बिहीबारको दिन कछुवा भेटिएकाले धेरै श्रद्धालुले यसलाई भगवान् विष्णुको कूर्म अवतारसँग जोडेर हेरेका छन् । हिन्दु धार्मिक मान्यतामा कछुवालाई धैर्यता, स्थायित्व, समृद्धि र सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ । यही कारण धेरै भक्तजनले उक्त दृश्यलाई शुभ संकेतका रूपमा लिएको स्थानीयहरूले बताएका छन् ।
सूर्य मन्दिर समितिका सचिव शम्भु प्रसाद चौरसिया, कोषाध्यक्ष गणेश अग्रवाललगायत पदाधिकारीहरूले धार्मिक आस्थाको केन्द्रमा यति ठूलो कछुवा भेटिनुलाई प्रकृति र अध्यात्मबीचको अद्भुत सम्बन्धको संकेत भएको बताएका छन् । उनीहरूका अनुसार यस घटनाले धार्मिक स्थल संरक्षणसँगै प्राकृतिक सम्पदाको महत्वसमेत उजागर गरेको छ ।
यता, वातावरणविद्हरूले पनि कछुवाको उपस्थितिलाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूका अनुसार कछुवाले जलस्रोत संरक्षण, पानीको जैविक सन्तुलन कायम राख्ने तथा पर्यावरणीय चक्रलाई सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
मन्दिर समितिले पोखरी तथा मन्दिर परिसरलाई स्वच्छ राख्न सर्वसाधारणसँग पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफाल्न आग्रह गरेको छ । समितिका मिडिया प्रवक्ता प्रियदर्शीले प्रकृति सुरक्षित रहँदा मात्रै आस्था, संस्कृति र जीवनको सन्तुलन जोगिने सन्देश विशाल कछुवाले दिएको बताए ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्