Saturday, June 06, 2026
शनिबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.47 SELL AUD/NPR 109.07 SELL BHD/NPR 403.98 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपा महाधिवेशन : केन्द्रदेखि प्रदेशसम्मै पुरानै पदमा दोहोरिने आकांक्षी उल्लेख्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा केन्द्रदेखि प्रदेश र जिल्लासम्मका नेतृत्वमा पुरानै अनुहार दोहोरिने सम्भावना बलियो देखिएको छ । पार्टीभित्र अधिकांश नेताहरू अहिले सम्हालिरहेको जिम्मेवारीमै निरन्तरता खोजिरहेका छन् ।

चार वर्षदेखि तदर्थ समितिको नेतृत्व गर्दै आएका सभापति रवि लामिछाने पार्टीको सर्वोच्च पदमै निरन्तर रहने लगभग निश्चित देखिएको छ । पार्टी स्रोतका अनुसार केन्द्रीय पदाधिकारीदेखि प्रदेश नेतृत्वसम्म सहमतिका आधारमा धेरैलाई यथावत् राख्ने तयारी भइरहेको छ ।

राजनीतिक सहमतिबाट वरिष्ठ नेताको भूमिका पाएका प्रधानमन्त्री बालेन्द्र शाहको पार्टीभित्रको पदीय हैसियत पनि यथावत् रहने बताइएको छ । उपसभापति डीपी अर्याल सभामुख बनेपछि नेतृत्व सन्तुलन मिलाउने विषयमा समेत आन्तरिक छलफल भइरहेको छ ।

रास्वपाको विधानअनुसार एक महिला सहित तीन उपसभापति रहने व्यवस्था छ । हाल अर्थमन्त्री समेत रहेका डा. स्वर्णिम वाग्ले पुनः उपसभापतिमा दोहोरिने लगभग निश्चित मानिएको छ । पार्टीका नेताहरूका अनुसार वाग्ले पदको आकांक्षा लिएर नभई वैकल्पिक राजनीतिक सोचसहित पार्टीमा जोडिएका कारण उनीप्रति नेतृत्व सकारात्मक छ ।

महामन्त्री पदमा पनि पुरानै अनुहार कायम रहने संकेत देखिएको छ । हाल दुई महामन्त्री रहेका कविन्द्र बुर्लाकोटी र भूपदेव शाहमध्ये शाहको निरन्तरता लगभग सुनिश्चित मानिएको छ भने बुर्लाकोटीबारे अन्तिम सहमति हुन बाँकी रहेको बताइएको छ । विधान संशोधनमार्फत दुई महामन्त्रीको व्यवस्था औपचारिक बनाउने तयारी समेत भइरहेको छ ।

पार्टीभित्र ‘बालेन पक्ष’ र मूलधारबीच संगठन विस्तार तथा नेतृत्व प्रतिनिधित्वका विषयमा आन्तरिक बहस चलिरहेको छ । केही नेताहरूका अनुसार पछिल्लो समय बालेन पक्ष निकट भनेर पार्टीमा प्रवेश गर्नेहरूले संगठनमा सहजै जिम्मेवारी पाउने अवस्था बनेको छ । यद्यपि, लामो समयदेखि संगठन निर्माणमा खटिएका मूलधारका कार्यकर्ताहरू भने महाधिवेशनमार्फत आफ्नो राजनीतिक परीक्षण हुनुपर्ने पक्षमा छन् ।

रास्वपाको विधानअनुसार सभापति सहित ९९ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । त्यसपछि निर्वाचित सदस्यहरूले पदाधिकारी चयन गर्नेछन् । तर नेतृत्व तहमा भने अधिकांश पदाधिकारी सर्वसम्मत् चयन गर्ने गरी छलफल भइरहेको बताइएको छ ।

प्रदेश तहमा पनि हालका सभापतिहरू नै दोहोरिने संकेत देखिएको छ । कोशीका तपेश्वर यादव, बागमतीका डा. अच्युत्तम लामिछाने, कर्णालीका मदन खड्का र सुदूरपश्चिमका प्रकाश विष्टले पुनः नेतृत्व सम्हाल्ने इच्छा देखाएका छन् ।

कर्णाली सभापति मदन खड्काले अहिले प्रदेश समितिमै काम गर्ने चाहना रहेको बताएका छन् । सुदूरपश्चिम सभापति प्रकाश विष्टले संगठन निर्माणको मेहनतलाई व्यवस्थित गर्न अझै यही जिम्मेवारीमा रहन चाहेको बताएका छन् ।

यद्यपि, गण्डकी र लुम्बिनी प्रदेशका केही नेताहरू भने केन्द्रीय राजनीतिमा आउने तयारीमा छन् । काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले भने जिल्ला नेतृत्वमै निरन्तर रहने वा नरहनेबारे साथीहरूसँग छलफल गरेर निर्णय गर्ने बताएका छन् ।

हाल वडा र पालिका अधिवेशन चलिरहेको रास्वपाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । सातै प्रदेशको अधिवेशन जेठ २६ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुनेछ ।

पार्टी स्थापना भएको चार वर्ष पूरा भएकै दिन असार ७ गतेदेखि पहिलो महाधिवेशन सुरु हुने र असार ९ गते सम्पन्न हुने कार्यतालिका रहेको छ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्