सभामुख डोल प्रसाद अर्याल ले विगतका सरकारहरूले जनताको आधारभूत आवश्यकतामा प्रभावकारी काम नगरेका कारण अहिले पनि सडक, खानेपानीजस्ता विषयमा बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
नागार्जुन नगरपालिका द्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै सभामुख अर्यालले पूर्वाधार विकासका विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका हुन् ।
उनले विशेषगरी सडक र खानेपानीजस्ता आधारभूत सेवामा राजनीतिक स्वार्थभन्दा जनताको आवश्यकता प्राथमिकतामा पर्नुपर्ने उल्लेख गरे । विगतका सरकारहरूले जनपक्षीय काम प्रभावकारी रूपमा गरेको भए राजधानीमै अहिले पनि आधारभूत सुविधाका विषयमा बहस गर्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो ।
सभामुख अर्यालले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूले विगतका कमजोरी नदोहोर्याउने विश्वास व्यक्त गरे । उनले जनमुखी विकास, सुशासन र उत्तरदायी नेतृत्वलाई प्राथमिकतामा राखेर काम गर्न आग्रहसमेत गरे ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्