१० जेठ, पोखरा । पोखरा महानगरपालिकाले Pokharaस्थित फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका अवैध संरचना हटाउन डोजर चलाएको छ। वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको फिर्केखोलामा करिडोर निर्माण गर्ने उद्देश्यसहित महानगरले अभियान सुरु गरेको हो।
महानगर प्रमुख Dhanraj Acharya र सम्बन्धित वडाध्यक्षहरूको नेतृत्वमा बिहान १० बजेदेखि फिर्केखोलाका तीन स्थानबाट एकैसाथ डोजर परिचालन गरिएको हो।
पहिलो चरणमा जिरो किमी र सिर्जना चोकबीच फिर्केमाथि बनेका संरचना हटाइएको छ। सो क्षेत्रबाट सुरु भएको डोजरले लायन्स भवन आसपासका संरचना भत्काउँदै वडा नम्बर ६ तर्फ अघि बढ्ने महानगरले जनाएको छ।
त्यसैगरी अर्को डोजरले वडा नम्बर २ र १८ को सिमाना अँधेरी कुनादेखि संरचना हटाउने कार्य सुरु गरी वडा नम्बर ४ तर्फ अघि बढ्नेछ। तेस्रो डोजरले वडा नम्बर ४ र ५ को सिमाना फिर्केपुल बूढानीलकण्ठ मन्दिर क्षेत्रबाट भत्काउने काम सुरु गरी वडा नम्बर ५ र ८ तर्फ विस्तार गर्ने बताइएको छ।
२०८० साल असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनअनुसार खोलाघरभित्र बनेका सबै प्रकारका संरचना हटाउनुपर्ने निष्कर्ष निकालिएको थियो। सो प्रतिवेदनअनुसार खोलाघर क्षेत्रमा करिब १६० संरचना पर्ने देखिएको छ, जसमा सरकारी कार्यालयदेखि व्यक्तिका घरसम्म समेटिएका छन्।
महानगरले जेठ ३ गते सार्वजनिक सूचना जारी गर्दै जेठ ९ गतेभित्र स्थायी तथा अस्थायी सबै संरचना आफैं हटाउन आग्रह गरेको थियो। तोकिएको समय सकिएपछि आजदेखि डोजर परिचालन गरिएको हो।
सूचना जारी भएपछि फिर्केखोला क्षेत्रभित्र रहेका फोटो ग्राफर संघ, लायन्स क्लब लगायत केही स्थानीयले आफ्ना संरचना आफैं हटाएका पनि महानगरले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्