नेपाल–भारत स्थल सीमा नाकाबाट आवतजावत गर्ने यात्रुहरूका लागि सरकारले भन्सार छुटको सीमा बढाउँदै नयाँ राहत दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यसअघि कायम गरिएको एक सय रुपैयाँको सीमा बढाएर पाँच सय रुपैयाँ पुर्याएको हो ।
गत वर्ष लागू गरिएको कडा भन्सार नियमका कारण सीमा क्षेत्रमा यात्रु र सुरक्षाकर्मीबीच पटक–पटक विवाद र असन्तुष्टि देखिँदै आएको थियो । यसै विषयमा संसद्मा समेत चर्को आवाज उठेपछि सरकारले पुरानो व्यवस्थाको पुनरावलोकन गर्दै सीमा शुल्क नीतिमा संशोधन गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अब स्थल मार्ग हुँदै नेपाल–भारत सीमा नाकाबाट यात्रा गर्ने व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोगका लागि पाँच सय रुपैयाँसम्म मूल्यका सामान भन्सार महसुल नतिरी ल्याउन वा लैजान सक्नेछन् । सीमा नाकामा कार्यरत भन्सार प्रमुखले यात्रुले साथमा ल्याएका सामानको प्रकृति र आवश्यकताको आधारमा मूल्याङ्कन गरी भन्सार शुल्क नलाग्ने गरी प्रवेश अनुमति दिन सक्ने व्यवस्था गरिएको छ ।
सरकारले भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि विद्यमान सुविधा भने यथावत् राखेको छ । अध्ययन पूरा गरेर वा अध्ययनकै क्रममा नेपाल फर्किने विद्यार्थीले आफ्नो प्रयोगका लागि ल्याएको एक थान कम्प्युटर वा ट्याबलेटमा भन्सार महसुल नलाग्ने व्यवस्था कायम गरिएको छ ।
यद्यपि हवाई मार्गबाट नेपाल आउने यात्रु र स्थल मार्गका यात्रुबीचको भन्सार छुट सुविधामा भने कुनै परिवर्तन नगरिएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ ।
नयाँ व्यवस्थाले सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई सहजता मिल्ने र विगतमा देखिएका विवाद तथा असहजता कम हुने अपेक्षा गरिएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्