Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
विदेश

नेपाल–चीनबीच व्यापार र लगानी प्रवर्द्धनमा सहमति, मन्त्री गौरी यादव र चिनियाँ उपमन्त्री यान दोङबीच भेट

नेपाल र चीनले द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक साझेदारीलाई थप सुदृढ र परिणाममुखी बनाउने सहमति गरेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका वाणिज्य उपमन्त्री यान दोङ (Yan Dong) नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा यस्तो समझदारी बनेको हो।

भेटमा मन्त्री यादवले नेपाल–चीनबीचको ऐतिहासिक मित्रतालाई आर्थिक तथा व्यापारिक क्षेत्रमा अझ प्रभावकारी र दिगो बनाउने दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले व्यापार, लगानी, औद्योगिक विकास, सीमापार पूर्वाधार निर्माण तथा आपूर्ति शृङ्खला सुदृढीकरणमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

नेपालमा लगानीमैत्री वातावरण निर्माण, कानुनी तथा नीतिगत सुधार र औद्योगिक विकासका प्रयासबारे जानकारी दिँदै मन्त्री यादवले उत्पादनमूलक क्षेत्रमा चिनियाँ लगानी अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो।

भेटका क्रममा चिनियाँ उपमन्त्री यान दोङले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चीन प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले दुवै देशबीच नियमित संवाद र सरकारी संयन्त्रमार्फत सहकार्यलाई निरन्तर अघि बढाइने उल्लेख गर्नुभयो।

उहाँले तातोपानी र रसुवा नाकाको व्यापारिक पूर्वाधार निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्न चीन सकारात्मक रहेको बताउँदै नेपाललाई चीनमा आयोजना हुने विभिन्न व्यापार मेला तथा एक्स्पोमा सहभागी गराउन आवश्यक सहजीकरण गरिने जानकारी दिनुभयो।

उपमन्त्री दोङले नेपालका सम्भावित निर्यातयोग्य वस्तु, विशेषगरी चिया, जडीबुटी तथा अन्य उत्पादनहरूको सम्भावनाबारे संयुक्त अध्ययन गर्न सकिने प्रस्ताव पनि राख्नुभयो। साथै, चीनले अवलम्बन गरेको खुला आर्थिक नीति, वैदेशिक लगानी प्रवर्द्धन, कर सहुलियत र प्रशासनिक सुधारका अनुभव नेपालका लागि उपयोगी हुन सक्ने धारणा व्यक्त गर्नुभयो।

चीन नेपालको प्रमुख वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) स्रोत मुलुकमध्ये एक रहेको उल्लेख गर्दै उहाँले एकद्वार सेवा प्रणालीमार्फत थप सहज, पारदर्शी र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सके चिनियाँ लगानी अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो।

भेटवार्तामा दुवै पक्षले नेपाल–चीनबीचको आर्थिक साझेदारी, व्यापारिक सम्बन्ध र जनस्तरको मित्रतालाई अझ सुदृढ बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकमा मन्त्रालयका उच्च अधिकारी तथा चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्