नेपाल–भारत सीमास्थित रक्सौल नाकाबाट अवैध रूपमा नेपाल प्रवेश गर्ने प्रयास गरेकी एक युक्रेनी महिलालाई भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएको छ।
भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लामा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले ती महिलालाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा महिलासँग नेपाल प्रवेशका लागि आवश्यक पर्ने कुनै पनि वैध यात्रा कागजात वा भिसा नभएको फेला परेको सुरक्षा स्रोतले जनाएको छ।
घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै भारतीय गुप्तचर तथा सुरक्षा निकायले महिलासँग विस्तृत सोधपुछ गरिरहेका छन्। उनी कुन माध्यमबाट भारत आइपुगेकी हुन्, आवश्यक कागजातबिना नेपाल प्रवेश गर्न खोज्नुको उद्देश्य के थियो, र यस घटनामा कुनै आपराधिक सञ्जाल वा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ।
यस घटनापछि रक्सौल–वीरगञ्ज सीमा क्षेत्रमा सुरक्षा निगरानी र गस्ती थप कडा पारिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको भारतीय सुरक्षा निकायले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्