Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
शिक्षा

विश्वविद्यालय शिक्षा सुधारमा अर्को फड्को, राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा

उच्च शिक्षाको शैक्षिक गतिविधिलाई व्यवस्थित, योजनाबद्ध र समयबद्ध बनाउन राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत गरेसँगै अब देशभरका विश्वविद्यालयमा एउटै समयतालिकाअनुसार शैक्षिक गतिविधि सञ्चालन हुने भएको हो।

विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा विकास गरेको उक्त क्यालेन्डरलाई मन्त्रालयले मङ्गलवार मन्त्रीस्तरीय निर्णयमार्फत स्वीकृत गरेको हो। यसअघि कार्यान्वयनमा रहेको उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डर सम्बन्धी प्रतिवेदन, २०८० लाई समयानुकूल परिमार्जन गरी नयाँ स्वरूपमा लागू गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आवश्यक कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत सबै विश्वविद्यालयहरूमा परिपत्र गर्ने निर्णयसमेत गरेको छ। आयोगका अनुसार एकीकृत राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू भएसँगै विश्वविद्यालयहरूको शैक्षिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूचीको बुँदा नम्बर ८७ मा स्नातक र स्नातकोत्तर तहका परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्धारण गरेको क्यालेन्डरअनुसार सार्वजनिक गर्ने लक्ष्य राखिएको थियो। सोही लक्ष्यअनुसार शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगमार्फत क्यालेन्डर कार्यान्वयनमा ल्याएको हो।

विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ को उपदफा (१) को खण्ड (घ), (ङ) र (च) बमोजिम क्यालेन्डर कार्यान्वयन गरिनेछ। आवश्यक विषयहरू अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम समावेश गरी विश्वविद्यालयहरूलाई कार्यान्वयनका लागि निर्देशन दिइने आयोगले जनाएको छ।

आयोगका उपनिर्देशक रमेशप्रसाद अधिकारीका अनुसार परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू भएपछि विश्वविद्यालयहरूमा भर्ना, कक्षा सञ्चालन, परीक्षा, नतिजा प्रकाशन तथा अन्य शैक्षिक गतिविधि पूर्वनिर्धारित समयतालिकाअनुसार सञ्चालन हुनेछन्। यसले विद्यार्थी, शिक्षक र विश्वविद्यालय प्रशासन सबैलाई समय व्यवस्थापनमा सहज हुने विश्वास आयोगको छ।

यसअघि आयोगले तयार गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर २०८० साल भदौ २९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई कार्यान्वयनमा आएको थियो। बदलिँदो शैक्षिक आवश्यकता र समयानुकूल सुधारका लागि आयोगले शैक्षिक क्यालेन्डर परिमार्जन समिति गठन गरेको थियो।

समितिले २०८३ जेठ १२ गते गरेको निर्णय तथा सिफारिसका आधारमा क्यालेन्डरमा आवश्यक संशोधन गरी मन्त्रालयमा स्वीकृतिका लागि प्रस्ताव पठाएको थियो। सोही प्रस्ताव स्वीकृत भएसँगै परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर अब देशभरका विश्वविद्यालयमा लागू हुने भएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्