Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
शिक्षा

मेडिकल शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउने तयारीमा सरकार

मेडिकल शिक्षा अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थीको संख्या बढ्दै गएपछि सरकारले उनीहरूका लागि उपलब्ध कोटा विस्तार गर्ने तयारी थालेको छ। सरकारका अनुसार मेडिकल शिक्षाप्रति विदेशी विद्यार्थीहरूको आकर्षण उच्च रहेकाले नीतिगत रूपमा कोटा बढाउने विषयमा काम अघि बढाइएको हो।

मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले मेडिकल शिक्षामा विदेशी विद्यार्थीको कोटा थप गर्ने दिशामा सरकार अघि बढिरहेको जानकारी दिए।

उनले हाल करिब १ हजार ४ सय विदेशी विद्यार्थी विभिन्न देशबाट नेपाल आएर विभिन्न विश्वविद्यालयमा अध्ययनरत रहेको बताए। तीमध्ये अधिकांश विद्यार्थी मेडिकल शिक्षा अध्ययनका लागि नेपाल रोज्ने गरेको उनको भनाइ छ।

“विदेशी विद्यार्थीहरूका लागि नेपाल आकर्षक अध्ययन गन्तव्य बन्दै गएको छ। विशेषगरी मेडिकल शिक्षामा उनीहरूको आकर्षण धेरै देखिएको छ। त्यसैले विदेशी विद्यार्थीहरूको कोटा बढाउन सकिन्छ भन्ने हिसाबले नीतिगत निर्णय गर्ने तयारी भइरहेको छ,” सचिव पौडेलले समितिमा भने।

उनका अनुसार नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीका लागि स्टुडेन्ट भिसा प्रक्रियालाई थप सहज बनाउने विषयमा पनि गृह मन्त्रालयसँग छलफल भइरहेको छ।

“हाल विभिन्न देशका विद्यार्थी नेपालका विश्वविद्यालयमा अध्ययन गरिरहेका छन्। उनीहरूका लागि स्टुडेन्ट भिसामा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा गृह मन्त्रालयसँग छलफल अगाडि बढाएका छौं,” उनले बताए।

सरकारले विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिसा प्रक्रिया सरल बनाउने, अध्ययन वातावरण सुधार गर्ने तथा मेडिकल शिक्षामा उपलब्ध अवसर विस्तार गर्ने नीति अघि बढाएको जनाएको छ। यसबाट नेपाली विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय पहुँच बढ्नुका साथै शिक्षा क्षेत्रमार्फत विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्