एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई र एक युवती काभ्रेको पाँचखालस्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरीको शव पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनमा रहेको मौवाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
शक्ति राम सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वार्टर पाँचखालमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार दुवै जनाको शव सलको पासो प्रयोग गरी एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो।
प्रहरीका अनुसार शव लामो समयदेखि त्यही अवस्थामा रहेको अनुमान गरिएको छ। शव सडेको अवस्थामा फेला परेकाले केही अंग जमिनमा खसेको र टाउको झुण्डिएको अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ।
घटनास्थलबाट बरामद कपडा, व्यक्तिगत सामग्री तथा अन्य कागजातका आधारमा प्रारम्भिक पहिचान गरिएको थियो। त्यसपछि परिवारका सदस्य र आफन्तमार्फत रुजु गर्दा मृतकहरू शक्ति राम र शर्मिला चौधरी रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानअनुसार शक्ति राम वैशाख १९ गतेदेखि लागू हुने गरी दुई दिनको बिदामा निस्किएका थिए। यस्तै शर्मिला चौधरी वैशाख १८ गते काभ्रेपलाञ्चोकमा रहेका शक्ति रामलाई भेट्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। त्यसयता दुवै जना सम्पर्कविहीन थिए।
शक्ति रामका परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बल १५ नम्बर हेडक्वार्टर पाँचखालमा खोजतलासका लागि निवेदन दिएका थिए भने शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासको निवेदन दिएका थिए।
स्थानीयले वन क्षेत्रमा शव झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको हो। दुवै शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्