महोत्तरीबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ।
गएराति रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट २० वटा पोकामा प्याक गरिएको १०९ किलोग्राम गाँजा बरामद गरिएको हो। उक्त गाँजा भारतीय नम्बर प्लेटको कारमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रामगोपालपुरको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा पूर्व–पश्चिम लोकमार्गमा जाँच गर्ने क्रममा डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कारलाई रोकेको थियो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार प्रहरीलाई देख्नासाथ चालक कार छाडेर फरार भएका थिए।
बरामद गरिएको गाँजा र कार हाल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्