नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको नतिजाप्रति गम्भीर आशंका व्यक्त गरेका छन्। उनले निर्वाचन प्रक्रिया निष्पक्ष र पारदर्शी भएको विषयमा प्रश्न उठाउँदै भविष्यमा यससँग सम्बन्धित विभिन्न तथ्य सार्वजनिक हुने दाबी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले निर्वाचन परिणामलाई लिएर विभिन्न तहमा प्रश्न उठिरहेको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाइ नजिकको सिटलाई अस्थायी ‘सुनामी’ को संज्ञा दिँदै यसको पछाडिका कारणबारे खोजी भइरहेको उल्लेख गरे।
उनले निर्वाचनका क्रममा नेपाली सेना, सरकार, निर्वाचन आयोग तथा मतपत्र व्यवस्थापनको भूमिकामाथि समेत प्रश्न उठिरहेको बताए। “यी विषयहरूबारे पार्टीभित्रकै केही मानिसहरूले पनि समय आएपछि पोल खोल्ने चेतावनी दिएका छन्। एक न एक दिन सबै कुरा बाहिर आउनेछ,” उनले भने।
नेपालले निर्वाचनको नतिजा स्वाभाविक प्रक्रियाबाट आएको नभई त्यसमा विभिन्न शंकास्पद पक्षहरू रहेको संकेत गरे। यद्यपि उनले आफ्नो दाबीलाई पुष्टि गर्ने कुनै ठोस प्रमाण भने सार्वजनिक गरेका छैनन्।
सम्बोधनका क्रममा उनले नेपालको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण तथा महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो पार्टीले खेलेको भूमिकाबारे पनि चर्चा गरे। २०४७ सालको संविधान निर्माणदेखि संविधानसभामार्फत संविधान जारी गर्दासम्म समावेशी प्रतिनिधित्वका लागि आफूहरू निरन्तर संघर्षरत रहेको उनको भनाइ थियो।
उनले राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख लगायतका उच्च संवैधानिक पदमध्ये कम्तीमा एक पदमा महिलाको उपस्थिति सुनिश्चित गर्ने व्यवस्थामा आफ्नो राजनीतिक धारको महत्वपूर्ण योगदान रहेको दाबी गरे।
निर्वाचन परिणामपछि पार्टीका केही नेता–कार्यकर्ता रक्षात्मक बनेको महसुस भएको उल्लेख गर्दै नेपालले निराश नहुन आग्रह गरे। अहिले देखिएको राजनीतिक लहर स्थायी नभएको दाबी गर्दै उनले पार्टी पङ्क्तिलाई विगतका उपलब्धिको रक्षा गर्दै दृढतापूर्वक अघि बढ्न आह्वान गरे।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्