Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

केपी ओलीले हारे परिणाम नस्वीकार्ने भनेको दाबी भ्रामक

नेकपा एमालेका अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार केपी शर्मा ओलीले आफू वा एमाले पराजित भएमा चुनावी परिणाम अस्वीकार गर्ने चेतावनी दिएको दाबीसहितका भिडियो र फेसबुक पोस्टहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। तर तथ्य जाँच गर्दा ओलीले यस्तो अभिव्यक्ति दिएको पुष्टि भएको छैन।

४ लाख ७२ हजार फलोअर्स रहेको ‘पत्रिका नेपाल’ नामक फेसबुक पेजले जनवरी ३१ मा सार्वजनिक गरेको एउटा भिडियोमा ‘केपी ओली आफूले हारे परिणाम नस्वीकार्ने भन्दै सरकारलाई धम्कीपूर्ण चेतावनी’ शीर्षक राखिएको छ। यो भिडियो तथ्य जाँचको समयसम्म १४ लाखभन्दा बढी पटक हेरिएको छ।

यस्तै दाबी गर्दै ‘यात्रा’, ‘टाइम्स अफ नेपाल’ र ‘टी खबर’ लगायतका फेसबुक पेजहरूले पनि ओलीको तस्बिर वा भिडियोसहित पोस्ट सार्वजनिक गरेका छन्। ती पोस्टहरूमा हजारौँ प्रतिक्रिया, कमेन्ट र सेयर देखिन्छन्, जसमा धेरै प्रयोगकर्ताले ओलीको आलोचना गरेका छन्।

यी दाबीहरू भाइरल भएपछि जनवरी ३१ का दिन ओलीका भाषणहरू खोजी गरिएको थियो। यस क्रममा अनलाइनखबरको आधिकारिक फेसबुक पेजमा सोही दिन साँझ ४ बजे प्रसारण भएको २९ मिनेट लामो लाइभ भाषण फेला पर्‍यो। उक्त भाषण पूरा हेर्दा ओलीले ‘आफू पराजित भए निर्वाचन र परिणाम अस्वीकार गर्ने’ भनेको कतै भेटिएन।

बरु ओलीले निर्वाचनमा सरकारले धाँधली गरेमा वा कसैलाई जिताउने उद्देश्यले हस्तक्षेप गरेमा त्यस्तो निर्वाचन र परिणाम स्वीकार्य नहुने बताएका छन्। यो अभिव्यक्ति भाषणको करिब १५ मिनेट ५२ सेकेन्डपछि सुन्न सकिन्छ।

ओलीले भनेका छन्,
“यदि सरकार कसैलाई जिताउने उद्देश्यले लाग्छ भने त्यस्तो निर्वाचन स्वीकार्य हुँदैन। त्यस्तो परिणाम स्वीकार्य हुँदैन। सरकार तटस्थ भएर स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन गराउनु पर्छ।”

यसबाट स्पष्ट हुन्छ कि ओलीले आफू वा एमाले पराजित भएमा परिणाम नस्वीकार्ने भनेका होइनन्। उनको भनाइलाई तोडमरोड गरी सामाजिक सञ्जालमा गलत अर्थसहित प्रस्तुत गरिएको हो।

तथ्य जाँच निष्कर्ष

दाबी: आफू र एमाले पराजित भएमा चुनावी परिणाम अस्वीकार गर्ने भनेर केपी शर्मा ओलीले बोले
तथ्य: भ्रामक सूचना
वास्तविकता: ओलीले सरकारले धाँधली गरेर कसैलाई जिताउने प्रयास गरेमा त्यस्तो परिणाम स्वीकार्य नहुने बताएका हुन्।

(नेपाल फ्याक्ट चेक र अनलाइनखबर डटकमको सहकार्य)

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्