कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४ बरइपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
कपिलवस्तु प्रहरीले दिएको जानकारीअनुसार काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस आज बिहान सवा ३ बजे तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
घाइतेमध्ये १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य रहेको छ। अन्य सबै घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिएका छन्।
दुर्घटनापछि स्थानीयवासी र प्रहरीको टोलीले उद्धार कार्य गरेको थियो। घाइतेहरूलाई तत्काल नजिकैका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। बस किन अनियन्त्रित भयो भन्ने विषयमा प्राविधिक र सडक अवस्थासहितका पक्षमा जाँच भइरहेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्