Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

जीतपुर बजारमा नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झड्प, स्थिति केहीबेर तनावग्रस्त

बाराको जीतपुरस्थित जीतपुर बजार क्षेत्रमा बिहीबार नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झड्प हुँदा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ। फुटपाथ अतिक्रमण हटाउने क्रममा विवाद बढेपछि बजार क्षेत्र तनावग्रस्त बनेको हो।

जीतपुरसिमरा उपमहानगरपालिका ले सडक तथा फुटपाथ खाली गराउने अभियान सञ्चालन गरिरहेका बेला मकै तथा फलफूल बेच्ने केही फुटपाथ व्यवसायी र स्थानीयवासी नगर प्रहरीसँग विवादमा उत्रिएका थिए। विवाद चर्किने क्रममा नगर प्रहरीमाथि हातपातसमेत भएको जनाइएको छ।

प्रत्यक्षदर्शीका अनुसार झड्पकै क्रममा एक मकै व्यवसायीले जल्दो आगो नगर प्रहरीतर्फ फालेका थिए। यद्यपि उक्त घटनामा कुनै नगर प्रहरी घाइते नभएको बताइएको छ।

घटनापछि केही समय जीतपुर बजार क्षेत्र तनावग्रस्त बनेको थियो। फुटपाथ व्यवसायी र केही स्थानीयवासीले हातमा रड तथा चक्कु लिएर उपमहानगरपालिका कार्यालय घेराउ गरेका थिए। त्यसपछि ईलाका प्रहरी कार्यालय जीतपुर बाट पुगेको प्रहरी टोली र नगर प्रहरीको संयुक्त प्रयासपछि अवस्था नियन्त्रणमा आएको थियो।

स्थानीयका अनुसार अहिले जीतपुर बजारको अवस्था सामान्य बनेको छ। विवाद साम्य भएपछि केही फुटपाथ व्यवसायीले पुनः फुटपाथमै पसल सञ्चालन गर्न थालेका छन्।

यसैबीच, उपमहानगरपालिकाले सार्वजनिक स्थान तथा फुटपाथ व्यवस्थापन अभियानमा अवरोध गर्ने र नगर प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै बजार व्यवस्थापन तथा सडक अतिक्रमण नियन्त्रण अभियानलाई निरन्तरता दिइने जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्