काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्री नीशा मेहताले अस्पताल तथा स्वास्थ्य संस्थामा हुने अव्यवस्था नियन्त्रण गर्न कडा कदम चाल्दै नयाँ निर्देशन जारी गरेकी छन्। 
मन्त्रालयले २०८३ वैशाख १६ गते जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिलाई कडाइका साथ लागू गर्ने निर्णयसहित मन्त्री मेहताले अस्पताल परिसरमा पूर्व–स्वीकृति बिना भिडियो वा फोटो खिच्न, अन्तर्वार्ताको नाममा भीडभाड गर्न तथा स्वास्थ्यकर्मीको काममा अवरोध पुर्याउने गतिविधिमा पूर्ण रोक लगाएकी हुन्।
नयाँ निर्देशन अनुसार बिरामीको गोपनीयता उल्लंघन गर्ने वा उपचार प्रक्रियामा असर पर्ने कुनै पनि गतिविधि गैरकानुनी मानिनेछ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई ‘मुलुकी अपराध संहिता २०७४’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ।
यसका लागि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई समेत आवश्यक निर्देशन दिइसकिएको छ।
मन्त्री मेहताले उपचारका क्रममा कमजोरी महसुस भएमा तोडफोड वा होहल्ला नगरी सम्बन्धित निकायमा तथ्यसहित उजुरी दिन सबैलाई आग्रह गरेकी छन्। उनका अनुसार यस कदमले अस्पतालमा अनुशासन कायम गर्दै स्वास्थ्य सेवा थप व्यवस्थित बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्