Wednesday, June 10, 2026
बुधबार, जेठ २७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.59 SELL AUD/NPR 109.69 SELL BHD/NPR 405.11 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

प्लेकार्ड सार्वजनिक गर्दै हर्क साम्पाङको प्रश्न– ‘संसद् बन्दी बन्यो, नियम १५(२) खोइ?’

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले संसद् बन्दी बनेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत संसद्मा प्रदर्शन गर्ने प्लेकार्ड सार्वजनिक गर्दै उनले ‘संसद् बन्दी बन्यो’ भन्दै वर्तमान संसदीय अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

साम्पाङले सार्वजनिक गरेको प्लेकार्डमा ‘अलोकतन्त्रको आठौं दिन’ उल्लेख गर्दै ‘नियम १५(२) खोइ?’ भन्ने प्रश्नसमेत उठाएका छन्।

श्रम संस्कृति पार्टीले पछिल्ला आठवटै प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गर्दै आएको छ। प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम (२) मा संसद्मा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्री वा प्रधानमन्त्रीले सात दिनभित्र दिनुपर्ने व्यवस्था रहेको छ।

साम्पाङले यसअघि पनि संसद्मा यही विषय उठाउँदै ‘नियम १५(२) खै?’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए। उनका अनुसार संसद्मा उठाइएका प्रश्नको जवाफ नआउनु नियमावलीको भावना विपरीत हो।

यसपटक उनले थप प्रश्न गर्दै भनेका छन्, ‘प्रधानमन्त्री यही सभाको सदस्य हुन् कि होइनन् ?’

प्रधानमन्त्री संसद्को सदस्य भएको अवस्थामा नियमित रूपमा संसद्मा उपस्थित हुनुपर्ने र सांसदहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने उनको माग छ। यसअघि पनि उनले संसद्मै प्रधानमन्त्रीको उपस्थितिबारे जानकारी गराउन सभामुखसँग आग्रह गरेका थिए।

साम्पाङले निरन्तर अनुपस्थित रहने सदस्यले प्रतिनिधिसभाको सदस्यता गुमाउन सक्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै आएका छन्। उनले संविधानको धारा ७७ को खण्ड (ग) उल्लेख गर्दै प्रतिनिधिसभाको सदस्य नरहे प्रधानमन्त्रीको पद स्वतः रिक्त हुने व्यवस्था रहेको विषय पनि बारम्बार उठाउँदै आएका छन्।

संसद्मा जारी गतिरोध र प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर साम्पाङले लगातार प्रश्न उठाइरहेका बेला उनको पछिल्लो टिप्पणीले पुनः संसदीय जवाफदेहिता र नियम कार्यान्वयनको बहसलाई केन्द्रमा ल्याएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्