Saturday, June 06, 2026
शनिबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.47 SELL AUD/NPR 109.07 SELL BHD/NPR 403.98 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाइ

“नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति” : मन्त्री पोखरेल

काठमाडौं, १० जेठ । सस्मित पोखरेल ले नागरिकका गुनासा र सरोकार सुनेर मात्र सरकारले नीति तथा कार्यक्रम अघि बढाउने बताउनुभएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा शनिबार आयोजित पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले सडक, ढल, बिजुली, खानेपानी लगायत स्थानीय समस्याको समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

निर्वाचनका बेला महिनामा एउटा सार्वजनिक सुनुवाइ गर्ने प्रतिबद्धताअनुसार काठमाडौं महानगरपालिका वडा नम्बर ४ स्थित विशाल मिलन केन्द्रमा पहिलो कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले सरकारले जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै शिक्षा मन्त्रालयका प्राथमिकता र हालसम्म भएका कामबारे स्थानीयलाई जानकारी गराउनुभयो । उहाँले देशभरका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कन गरी आगामी वर्षदेखि आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिने बताउनुभयो ।

“सबै विद्यालयलाई एउटै ढाँचामा बजेट पठाउँदा समस्या भएको छ,” मन्त्री पोखरेलले भन्नुभयो, “अब जुन विद्यालयलाई जति आवश्यक छ, त्यही अनुसार बजेट र स्रोत सुनिश्चित गरिनेछ ।”

उहाँले विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया पनि अब पारदर्शी र व्यावसायिक बनाइने जानकारी दिनुभयो । विज्ञ समितिको सिफारिसका आधारमा दक्षता र योग्यताको मूल्याङ्कन गरेर उपकुलपति चयन गरिने उहाँको भनाइ थियो ।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीयवासीले विद्यालय भर्ना शुल्क, मेलम्ची खानेपानी नपुगेको समस्या, ढल व्यवस्थापन, सडक बत्ती, सिसिटिभी जडान तथा फोहोर जारको पानीबारे गुनासो गरेका थिए ।

स्थानीयले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षा भएको लामो समय बितिसक्दा पनि परीक्षाफल सार्वजनिक नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका थिए ।

जवाफमा मन्त्री पोखरेलले विद्यार्थी भर्ना शुल्क सम्बन्धमा स्थानीय तहलाई निर्देशन दिइसकिएको बताउँदै खानेपानीको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वय गरिने जानकारी दिनुभयो ।

उहाँले सडक बत्ती र सिसिटिभी व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर छिट्टै समाधान निकालिने प्रतिबद्धता जनाउनुभयो । साथै उपकुलपति छनोट प्रक्रिया टुंगिएपछि त्रिवि सेवा आयोगसहितका परीक्षाको नतिजा नियमित रूपमा प्रकाशन गरिने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले काठमाडौँ क्षेत्र नम्बर ५ का १५ वटै वडामा क्रमशः सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्दै जनताका गुनासा सुन्ने र सम्बोधन गर्ने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचन ले जनसरोकारका विषय संसद् र सरकारले आवश्यक रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीयवासी, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्