चालू आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा घरजग्गा कारोबार क्षेत्रको योगदान ८ प्रतिशतभन्दा माथि रहने अनुमान गरिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा यस्तो प्रक्षेपण गरिएको हो ।
सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा घरजग्गा कारोबार तथा सेवा क्षेत्रको मूल्य अभिवृद्धि २.६९ प्रतिशतले बढ्ने अनुमान छ । गत आर्थिक वर्षमा यो क्षेत्रको मूल्य अभिवृद्धि २.७७ प्रतिशतले वृद्धि भएको थियो । गत वर्षको तुलनामा वृद्धिदरमा सामान्य कमी देखिए पनि समग्रमा सकारात्मक गति कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।
घरजग्गा कारोबारमा देखिएको सामान्य वृद्धि, निजी आवास निर्माण तथा भाडा सम्बन्धी गतिविधिमा भएको उल्लेख्य विस्तारलाई यस क्षेत्रको वृद्धिको मुख्य कारणका रूपमा लिइएको छ ।
सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा कुल जीडीपीमा यस क्षेत्रको योगदान ८.०७ प्रतिशत रहने अनुमान छ । अर्थतन्त्रको आकार विस्तार भइरहेकाले गत वर्षको ८.१९ प्रतिशतको तुलनामा योगदानमा झिनो गिरावट देखिए पनि क्षेत्रको दीर्घकालीन हिस्सा स्थिर रहेको देखिएको छ ।
पछिल्लो एक दशकमा नेपालको अर्थतन्त्रमा घरजग्गा क्षेत्रले निरन्तर बलियो उपस्थिति जनाउँदै आएको छ । उक्त अवधिमा कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको औसत योगदान ८.६३ प्रतिशत रहेको छ भने औसत वार्षिक वृद्धिदर २.६५ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्