Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कांग्रेस एकतामा असफलताप्रति डा. शेखर कोइरालाको आत्मालोचना, चुनावमा एक भएर अघि बढ्न आह्वान



काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै यस विषयमा आत्मालोचना गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देश जारी गर्दै उनले दोष–निर्दोषको बहसले राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउने भन्दै त्यसतर्फ नजान आफू इच्छुक नभएको स्पष्ट पारेका छन्।

 

डा. कोइरालाले पछिल्ला घटनाक्रमका प्रत्यक्ष साक्षी भएकाले यस राजनीतिक “दुर्घटना”को वस्तुपरक समीक्षा र व्यक्तिको भूमिकाको मूल्यांकन इतिहासले गर्ने विश्वास व्यक्त गरेका छन्। उनले कांग्रेसभित्र देखिएका र नदेखिएका अन्तरविरोध, राजधानीमा बुनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रका तानाबाना र कांग्रेसलाई कमजोर पार्न खोज्ने स्वार्थलाई रोक्न नसकिएको उल्लेख गरेका छन्।

 

कांग्रेस एक भएर आसन्न निर्वाचनमा जाने सबैको इमानदार प्रयास रहे पनि त्यो सम्भव हुन नसकेको भन्दै उनले यस कठिन घडीमा महामानव नेता बीपी कोइरालाको स्मरण गर्नुपर्ने बताए। बीपी कोइरालाले नियतिमा विश्वास गर्ने गरेको उल्लेख गर्दै, वर्तमान परिस्थितिलाई पनि नियतिको कठोर सत्यका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।

 

डा. कोइरालाले अब आसन्न निर्वाचनमा सहभागी भई आठ दशक लामो कांग्रेस इतिहासको गौरव जोगाउने जिम्मेवारी सबैको काँधमा आएको बताए। संगठनात्मक ऊर्जा प्रस्फुटन भए मात्र इतिहास र अग्रज नेताहरूले दिएको जिम्मेवारी पूरा गर्न सकिने उनको धारणा छ।

 

उनले सम्पूर्ण कांग्रेसजनलाई एकताको अपरिहार्य आवश्यकता औंल्याउँदै कांग्रेस आम कार्यकर्ताले निर्माण गरेको पार्टी भएको, साझा इतिहास, साझा नेता र शहीदहरूको प्रेरणाबाटै नेपालको साझा भविष्य निर्माण गर्न सकिने बताए। पार्टीभित्र सुधारका प्रक्रिया निरन्तर जारी रहने प्रतिबद्धता जनाउँदै उनले सबैलाई “घर फर्कौं, कांग्रेसमा फर्कौं” भन्ने आह्वान गरे।

 

“यहाँ जीत–हार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अघि बढ्न सक्छौं,” भन्दै डा. कोइरालाले नेपाली जनताको समृद्धिको यात्रामा घरदैलो पुगेर भोट माग्ने प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। अन्त्यमा उनले “जय नेपाल” भन्दै सन्देश टुंग्याएका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्