पूर्वप्रधानमन्त्री तथा Sher Bahadur Deuba र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री Arzu Rana Deuba विरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको छ। इन्टरपोलले थप कागजात माग गरेपछि एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो) नेपालले आवश्यक विवरण पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
प्रहरी स्रोतका अनुसार केही दिनअघि इन्टरपोलबाट इमेलमार्फत थप कागजात माग गरिएको थियो। सोही अनुरूप आवश्यक कागजात पठाइएको र प्रक्रिया अगाडि बढाइएको बताइएको छ।
गत २४ चैतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई नेपाल ल्याउने कानुनी प्रक्रिया अघि बढाइएको थियो।
यसक्रममा एनसीबीले औपचारिक रूपमा इन्टरपोललाई रेड नोटिस जारी गर्न पत्राचार गरेको थियो। तर आवश्यक कागजात अपुग रहेको भन्दै इन्टरपोलले हालसम्म रेड नोटिस जारी गरिसकेको छैन।
पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमै रहेका थिए। उनीहरू १४ फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका थिए। त्यसपछि ७ चैतमा हङकङ गएको बताइएको छ। स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेका छन्।
यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए। त्यतिबेला भने उपचारपछि उनीहरू नेपाल फर्किएका थिए। तर यसपटक भने देश छाडेको लामो समयसम्म पनि उनीहरू स्वदेश नफर्किएको जनाइएको छ।
यदि इन्टरपोलले रेड नोटिस जारी गरेमा उसका १९६ सदस्य राष्ट्रले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन्। त्यसपछि कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल ल्याउन सकिने व्यवस्था रहेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्