Saturday, June 06, 2026
शनिबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.19 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

दिल्लीको होटल–रेस्टुरेन्टमा भीषण आगलागी: २१ जनाको मृत्यु

दिल्लीको मालवीय नगरस्थित ‘फ्लोरिश स्टे बी एन्ड बी’ होटल र त्यसमुनि रहेको ‘लेमन ग्रीन’ रेस्टुरेन्टमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ। आगलागीपछि दिल्ली पुलिस, फायर ब्रिगेड र अन्य आपतकालीन निकायले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरेका थिए।

पुलिसका अनुसार बिहान ८ः४८ बजे आगलागीको सूचना प्राप्त हुनासाथ उद्धार टोली घटनास्थलमा पुगेको थियो। फायर ब्रिगेडका ८ वटा गाडीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ भने ४० भन्दा बढी व्यक्तिलाई सुरक्षित उद्धार गरिएको छ। घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको छ।

साकेतस्थित म्याक्स अस्पतालले ३९ जना घाइते तथा प्रभावितलाई ल्याइएको जनाएको छ, जसमध्ये १८ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो। स्थानीय जनप्रतिनिधिहरूका अनुसार मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

प्रारम्भिक अनुसन्धानमा आगो होटलमुनि सञ्चालन भइरहेको रेस्टुरेन्टबाट सुरु भएको हुन सक्ने देखिएको छ। दक्षिणी दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटीका अधिकारीहरूले आगलागीको वास्तविक कारण खुल्न बाँकी रहे पनि रेस्टुरेन्ट वा सर्ट सर्किटसँग सम्बन्धित हुन सक्ने सम्भावना रहेको बताएका छन्।

पूर्व विधायक सोमनाथ भारतीले भवन वरिपरि तारहरूको जालो रहेको र सम्भावित सर्ट सर्किटपछि भान्साबाट आगो सुरु भई माथिल्ला तल्लासम्म फैलिएको दाबी गरेका छन्। भवनमा बसेका अधिकांश व्यक्ति नजिकैको म्याक्स अस्पतालमा उपचाररत बिरामीका आफन्त तथा विदेशी नागरिक रहेको पनि उनले बताएका छन्।

घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता तथा उपराज्यपाल तरणजीत सिंह संधूले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने घोषणा गरेको छ।

अधिकारीहरूले घटनाको विस्तृत छानबिन सुरु गरिएको जनाउँदै सुरक्षा मापदण्ड उल्लंघन गर्ने होटल तथा व्यावसायिक प्रतिष्ठानविरुद्ध कडा कारबाही गरिने बताएका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्