Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कांग्रेस विवाद समाधानका लागि संस्थापनको नयाँ पहल, इतर समूहका शीर्ष नेतालाई सातबुँदे प्रस्ताव

नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्षले संवादको दायरा फराकिलो बनाएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पटक–पटक छलफल गर्दा पनि अपेक्षित सहमति जुट्न नसकेपछि संस्थापन पक्षले इतर समूहका अन्य प्रभावशाली नेताहरूसँग प्रत्यक्ष संवाद अघि बढाएको हो।

संस्थापन पक्षले मंगलबार बिहान डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई परिमार्जनसहितको सातबुँदे प्रस्ताव पठाएको जनाएको छ। यसअघि सभापति गगन थापाले सहमतिका लागि खड्कालाई सातबुँदे प्रस्ताव बुझाएका थिए। तर खड्काबाट स्पष्ट जवाफ नआएपछि उक्त प्रस्तावमा संशोधन गर्दै इतर समूहका शीर्ष नेताहरूसम्म पुर्‍याइएको संस्थापन पक्षको भनाइ छ।

विवाद समाधानको प्रयासस्वरूप उपसभापति विश्वप्रकाश शर्माले गत २२ जेठमा गल्फुटार पुगेर खड्कासँग झन्डै तीन घण्टा लामो छलफल गरेका थिए। संस्थापन पक्षका अनुसार उक्त छलफलबाट साझा मतका केही आधार पहिचान भए पनि अन्तिम निष्कर्षमा पुग्न सकिएको थिएन।

त्यसपछि २४ जेठमा सभापति थापा र उपसभापति शर्माले प्रस्तावलाई थप परिमार्जन गरेका थिए। तर सोही दिन खड्काले सामाजिक सञ्जालमार्फत सभापति थापासँग विगत ३१ दिनदेखि कुनै संवाद नभएको अभिव्यक्ति सार्वजनिक गरेपछि संस्थापन पक्ष असन्तुष्ट बनेको बताइएको छ।

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले फैसला सुनाएपछि ६ वैशाखमा सभापति थापा गल्फुटार पुगेर खड्कासँग छलफल गरेका थिए। विशेष महाधिवेशनपछि दुई नेताबीच भएको त्यो पहिलो प्रत्यक्ष भेट थियो। त्यसपछि २३ वैशाखमा थापा र शर्मा पुनः खड्का निवास पुगेका थिए। खड्कासँग भेट्नुअघि थापाले नेता शेखर कोइरालासँग पनि परामर्श गरेका थिए।

यता, संस्थापनइतर समूहले भने विवाद समाधानका लागि जेठ मसान्तलाई अन्तिम समयसीमा बनाएको छ। मसान्तभित्र सहमति नभए यसअघि नै नवीकरण भएका क्रियाशील सदस्यताका आधारमा १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइने तयारी इतर समूहले गरेको छ।

इतर समूहका नेताहरूका अनुसार सहमति नजुटे देशव्यापी भेला आयोजना गर्दै अधिवेशनको प्रक्रिया अघि बढाइनेछ। शीर्ष तहमा विभिन्न एजेन्डामा सहमति खोज्ने प्रयास जारी रहे पनि अपेक्षित प्रगति हुन नसक्दा कांग्रेसभित्रको शक्ति संघर्ष झन् पेचिलो बन्दै गएको छ।

निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताहरू भने अब विवादलाई थप लम्ब्याउन नहुने पक्षमा देखिएका छन्। सहमति कि अधिवेशन भन्ने बहस तीव्र बन्दै जाँदा कांग्रेसको आन्तरिक राजनीति निर्णायक मोडतर्फ उन्मुख भएको विश्लेषण गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्