८ जेठ, चितवन । Buddha Air ले चितवनको भरतपुरदेखि पोखरासम्म सञ्चालन गर्दै आएको नियमित उडान सेवा बन्द गरेको छ । यात्रु संख्या अत्यन्त न्यून भएपछि कम्पनीले करिब एक महिनादेखि भरतपुर–पोखरा उडान स्थगित गरेको हो ।
बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार यात्रुको चाप कम हुनु, हवाई भाडा महँगो पर्नु तथा पोखरा–मुग्लिन सडकखण्डको अवस्था सुधारिनु उडान बन्द हुनुका मुख्य कारण हुन् ।
उनले पर्यटक वा समूहगत यात्रु भएमा आवश्यकता अनुसार चार्टर्ड वा विशेष उडान गर्न सकिने भए पनि नियमित सेवा भने हाललाई रोकिएको बताए । “केही समय घाटा सहेर पनि सेवा चलाइयो, तर सधैं खाली जहाज उडाउन सम्भव भएन,” बस्नेतले भने, “भरतपुर र पोखरा दुबै प्रमुख पर्यटकीय गन्तव्य भए पनि अपेक्षाअनुसार यात्रु पाउन सकिएन ।”
चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीहरूको आग्रहमा बुद्ध एयरले २०७४ भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गरेको थियो । त्यसबेला मुग्लिन–नारायणगढ तथा आँबुखैरेनी–पोखरा सडक विस्तारका कारण सडक यात्रा कठिन बनेपछि हवाई सेवा प्रभावकारी मानिएको थियो ।
तर अहिले सडक विस्तारको काम धेरै हदसम्म सम्पन्न भइसकेपछि अधिकांश यात्रु सडक मार्गतर्फ आकर्षित भएका छन् । हाल भरतपुरबाट पोखरा निजी सवारीमार्फत करिब साढे दुई घण्टा र सार्वजनिक सवारीमार्फत करिब तीन घण्टामै पुग्न सकिने अवस्था छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्