सशस्त्र प्रहरीले वीरगन्ज भन्सार क्षेत्रबाट स्रोत खुल्न नसकेको २० लाखभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१७ अलौंका ५० वर्षीय विनयशंकर साह तुराहा रहेका छन्।
भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले भन्सार कार्यालय अगाडि रोकेर जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको अवस्थामा नेपाली २० लाख २ हजार ५० रुपैयाँ तथा भारतीय ६ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।
पक्राउ परेका तुराहालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्