चितवन, जेठ ०८ — बारामा ७ वर्षअघि भएको एक व्यक्तिको हत्या घटनामा संलग्न रहेको आरोप लागेका एक व्यक्ति चितवन प्रहरीले पक्राउ गरेको छ।
२०७६ साल चैत २३ गते रत्ननगर नगरपालिका–९ स्थित नेपाल ग्याँस उद्योग गण्डकीको कम्पाउन्डभित्र मजदुर बस्ने कोठामा एक व्यक्तिको शव फेला परेको थियो। उक्त शव बाराको साविक फेटा गाउँपालिका–४ (हाल फेटा गाउँपालिका–३) निवासी ४६ वर्षीय सखिचन महराको रहेको प्रहरीले जनाएको छ।
घटनापछि गरिएको सूक्ष्म अनुसन्धानका क्रममा सो हत्या बाराको साविक बतरा गाउँपालिका–६ (हाल फेटा गाउँपालिका–४) निवासी हाल ३० वर्षीय पुनदेव भन्ने पञ्चदेव महराले गरेको खुल्न आएको थियो।
हत्या पुष्टि भएपछि चितवन जिल्ला अदालतले २०७६ चैत २५ गते पक्राउ अनुमति जारी गरेको थियो। त्यसयता फरार रहेका महरालाई प्रहरीले निरन्तर खोजतलास गर्दै आएको थियो।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी र इलाका प्रहरी कार्यालय खरैनीबाट खटिएको संयुक्त टोलीले उनलाई फेटा गाउँपालिका–१ त्रिवेणी क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा जेठ ५ गते पक्राउ गरेको हो।
पक्राउ परेका महरालाई इलाका प्रहरी कार्यालय खरैनीको हिरासतमा राखी चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्