Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

भूकम्प सुरक्षा दिवसमा बालेन शाहको सन्देश: सुरक्षित राष्ट्र निर्माणका लागि दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्व आवश्यक


 



काठमाडौँ — काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै सुरक्षित राष्ट्र निर्माणका लागि दीर्घकालीन योजना, जिम्मेवार नीति र इमानदार नेतृत्वको आवश्यकता औँल्याएका छन्।

 

२०७२ सालको विनाशकारी भूकम्पपछिको अनुभव स्मरण गर्दै उनले आफू सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न भागमा काम गरेको उल्लेख गरेका छन्। उनका अनुसार काभ्रे जिल्लामा मात्रै करिब २५ सय घर निर्माण गरिएको थियो भने त्यसपछि गोरखा हुँदै ३५ भन्दा बढी जिल्लामा इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएका थिए। उनले अब कहिल्यै पनि त्यस्तो पीडादायी दिन नआओस् भन्ने कामना व्यक्त गरेका छन्।

 

बालेन शाहले नेपालजस्तो उच्च भूकम्पीय जोखिम भएको देश केवल सिभिल इन्जिनियरिङको दृष्टिकोणबाट मात्र विकास सम्भव नभएको बताएका छन्। भौगोलिक बनोटसँगै सामाजिक विविधतालाई समेट्दै समग्र रूपमा काम गर्नुपर्नेमा उनले जोड दिएका छन्। उनका अनुसार राष्ट्र विकास भनेको भूगोल र जनता दुवैको विकास हो र ती दुईलाई जोड्ने सेतुको बलियो आधार निर्माण गर्नु हो।

 

सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासबीचको सन्तुलन, जिम्मेवार नीति र इमानदार नेतृत्व अनिवार्य रहेको उनले बताएका छन्। यही बुझाइका साथ आफू भारत गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको र अध्ययनपछि सुविधा सम्पन्न देशमा काम गर्ने अवसर हुँदाहुँदै पनि देश फर्किने निर्णय गरेको उनले उल्लेख गरेका छन्।

 

काठमाडौं महानगरपालिकाको प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दै गर्दा शब्दभन्दा कामलाई प्राथमिकता दिइएको बालेन शाहको भनाइ छ। स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरिएको उनले दाबी गरेका छन्। महानगरबाट पारदर्शी प्रणाली, संरचनागत सुधार र नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवाको सुरुवात भएको भन्दै अब ती अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको बताएका छन्।

 

उनले विकासलाई केवल सडक, भवन र ठूला संरचनासँग मात्र सीमित नगर्न आग्रह गर्दै सुरक्षित संरचना, देशको आवश्यकता र जनताको आशालाई जीवित राख्ने वातावरण निर्माण नै वास्तविक विकास भएको स्पष्ट पारेका छन्। संस्थागत विकास र समुन्नति कागजमा मात्र नभई हरेक नागरिकले अनुभूति गर्न पाउनुपर्ने उनको भनाइ छ।

 

सन्देशको अन्त्यमा बालेन शाहले देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको बताएका छन्। लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने उद्देश्यसहित आफू राजनीतिमा आएको स्पष्ट पारेका छन्। उनका अनुसार यो अभियान कुनै एक व्यक्तिको होइन, सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो।

 

सबैको साथ, सहयोग र विश्वाससहित अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको बालेन शाहको आह्वान छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्