बाराको जीतपुर क्षेत्रमा ६ लेन राजमार्ग आसपास फैलिँदै आएको फुटपाथ अतिक्रमण र अस्थायी बजार हटाउने निर्णय गरिएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाले शनिबारसम्मको समयसीमा दिँदै सडक तथा फुटपाथ खाली गर्न निर्देशन जारी गरेको हो।
उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकपछि नगर प्रमुख राजन पौडेलले अतिक्रमण नियन्त्रणलाई कडाइका साथ कार्यान्वयन गर्ने स्पष्ट पार्नुभयो। उहाँका अनुसार राजमार्गको सौन्दर्य जोगाउन, सवारी आवागमनलाई सहज बनाउन र पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्न यस्तो कदम चालिएको हो।
यसअघि पनि पटक–पटक सूचना जारी गरिए पनि केही व्यवसायीहरूले पुनः सडक र फुटपाथ अतिक्रमण गर्दै व्यापार सञ्चालन गर्दै आएका थिए। जसका कारण ट्राफिक जाम, दुर्घटनाको जोखिम तथा सर्वसाधारणलाई आवतजावतमा समस्या बढ्दै गएको भन्दै गुनासो उठ्दै आएको थियो।
उपमहानगरपालिकाले तोकिएको समयभित्र स्वयं हट्न आग्रह गरेको छ। अन्यथा चैत्र २२ गते आइतबारदेखि बलपूर्वक हटाउने चेतावनी दिइएको छ। अटेर गर्ने व्यवसायीमाथि कानुनी कारबाही समेत गरिने जनाइएको छ।
साथै, साना व्यवसायीलाई व्यवस्थित रूपमा व्यापार गर्न सकिने वैकल्पिक स्थानको व्यवस्थापनबारे पनि छलफल भइरहेको उपमहानगरपालिकाले जनाएको छ।
स्थानीय बासिन्दाले भने सडक अतिक्रमण हटाउने निर्णयको स्वागत गरेका छन्। उनीहरूका अनुसार यसले ट्राफिक व्यवस्थापन सहज बनाउने र बजार क्षेत्र थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
यसैबीच, आवश्यक शान्ति–सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय बारासँग समन्वय गरिएको प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलाले जानकारी दिनुभयो।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्