फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत शनिबार (असार २० गते) राति १०:४५ बजे (नेपाली समय) क्यानडा र मोरक्कोबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। खेल अमेरिकाको ह्युस्टनस्थित ह्युस्टन स्टेडियममा हुनेछ।
सह-आयोजक राष्ट्र क्यानडाले राउन्ड अफ ३२ मा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै इतिहासमै पहिलो पटक विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो। निर्णायक गोल स्टेफन एउस्ताकियोले इन्जुरी समयमा गरेका थिए।
यता मोरक्कोले नेदरल्यान्ड्ससँग १–१ को बराबरीपछि पेनाल्टी सुटआउटमा जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको थियो। उत्तर अफ्रिकी टोली पछिल्ला केही वर्षयता विश्व फुटबलमा बलियो टोलीका रूपमा स्थापित हुँदै आएको छ।
यस खेलको विजेताले क्वार्टरफाइनलमा स्थान बनाउनेछ। दुवै टोलीका लागि यो विश्वकप अभियानलाई थप अगाडि बढाउने सुनौलो अवसर भएकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्