All Nepal Football Association (एन्फा) माथि FIFA ले निलम्बन लगाएपछि नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरमा थप ठूलो झट्का बेहोरेको छ। निलम्बनको प्रत्यक्ष असरस्वरूप नेपालका विभिन्न टोलीले एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका तीन महत्वपूर्ण प्रतियोगितामा सहभागी हुन नपाउने भएका छन्।
एएफसीले एन्फालाई पठाएको पत्रमा नेपालका टोलीहरू एएफसी वुमन्स च्याम्पियन्स लिग, एएफसी यू–१७ वुमन्स एसियन कप क्वालिफायर्स र एएफसी यू–२० वुमन्स एसियन कप क्वालिफायर्स का लागि योग्य (एलिजिबल) नरहेको स्पष्ट पारेको छ। फिफाको निलम्बन कायम रहेसम्म नेपाली टोलीहरूले एएफसीका आधिकारिक प्रतियोगितामा सहभागिता जनाउन नपाउने जनाइएको छ।
यसअघि फिफाले तेस्रो पक्षको हस्तक्षेप (थर्ड पार्टी इन्टरफेरेन्स) भएको भन्दै एन्फालाई तत्काल प्रभावबाट निलम्बन गरेको थियो। फिफाको निर्णयसँगै नेपालका राष्ट्रिय टोली, क्लब तथा एन्फासम्बद्ध गतिविधिहरू अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिरिएका छन्। साथै फिफा र एएफसीका विकास कार्यक्रम तथा प्राविधिक सहयोगबाट समेत एन्फा वञ्चित हुने अवस्था सिर्जना भएको छ।
एएफसीको पछिल्लो निर्णयसँगै महिला क्लब फुटबलदेखि उमेर समूहका राष्ट्रिय टोलीसम्मको अन्तर्राष्ट्रिय तयारी प्रभावित भएको छ। फिफाको निलम्बन फुकुवा नभएसम्म नेपालले आगामी एसियाली प्रतियोगिताहरूमा सहभागिता जनाउन नपाउने निश्चित भएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्