निर्देशक नितेश तिवारीको महाकाव्यमा आधारित फिल्म ‘रामायण पार्ट १’ सन् २०२६ को दोस्रो अर्धवार्षिकका लागि IMDb को Most Anticipated Indian Movies सूचीमा पहिलो स्थानमा परेको छ।
IMDb ले जनवरी १ देखि जुन २८ सम्म आफ्ना मासिक २५ करोडभन्दा बढी प्रयोगकर्ताले गरेका पृष्ठ अवलोकन (पेज भ्यु) का आधारमा २० वटा बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको हो। यस सूचीमा सन् २०२६ को दोस्रो अर्धवार्षिकमा हल वा स्ट्रिमिङ प्लेटफर्ममा प्रदर्शन हुने पुष्टि भएका फिल्महरू समावेश गरिएका छन्।
‘रामायण पार्ट १’ मा रणवीर कपुरले भगवान् राम र कन्नड सुपरस्टार यशले रावणको भूमिका निभाएका छन्। यश अभिनीत अर्को फिल्म ‘टक्सिक’ पनि सूचीको तेस्रो स्थानमा परेको छ।
सूचीको दोस्रो स्थानमा आलिया भट्ट अभिनीत ‘अल्फा’ रहेको छ भने चौथो स्थानमा शाहरुख खान अभिनीत ‘किङ’ परेको छ। पाँचौं स्थानमा अजय देवगनको कमेडी सिक्वेल ‘धमाल ४’ र छैटौं स्थानमा अपराध थ्रिलर श्रृंखलाको नयाँ भाग ‘दृश्यम ३’ रहेको IMDb ले जनाएको छ।
सूचीमा हिन्दी, तमिल, मलयालम, तेलुगु र कन्नड गरी पाँच भाषाका फिल्म समावेश छन्। तीमध्ये १२ हिन्दी, चार तमिल, दुई मलयालम, एक तेलुगु र एक कन्नड भाषाका फिल्म रहेका छन्।
अनिल कपुर पनि दुई फिल्ममार्फत सूचीमा परेका छन्। उनी ‘अल्फा’ र ‘किङ’ दुवैमा देखिनेछन्। त्यस्तै सन्नी देओल ‘रामायण पार्ट १’ सँगै १२औँ स्थानमा रहेको ‘इक्का’ मा पनि अभिनय गर्दैछन्।
प्राइम भिडियोको लोकप्रिय अपराध श्रृंखलामा आधारित ‘मिर्जापुर: द मुभी’ आठौं स्थानमा परेको छ। सूचीमा समावेश ‘इक्का’ भने प्रत्यक्ष स्ट्रिमिङमार्फत सार्वजनिक हुने एकमात्र फिल्म हो।
IMDb को शीर्ष २० सूचीमा ‘विश्वनाथ एन्ड सन्स’, ‘हैवान’, ‘ईथा’, ‘आवारापन २’, ‘अरासन’, ‘खलिफा’, ‘आइ एम गेम’, ‘रणबाली’, ‘शक्ति शालिनी’, ‘इधयम मुरली’, ‘सिग्मा’ र ‘भ्वान – फोर्स अफ द फरेस्ट’ जस्ता फिल्महरू पनि समावेश भएका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्